
रामेछाप। रामेछापको गोकुलगंगा गाउँपालिकामा अर्थ समिति सभापति माननीय डा. कृष्णहरि बुढाथोकीले सञ्चालन गर्नुभएको ‘जनताबीच जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ।
जनताका समस्या, गुनासा, सुझाव तथा विकास निर्माणसँग सम्बन्धित विषयहरू प्रत्यक्ष रूपमा सुन्ने र नागरिकसँग संवाद गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रम गाउँपालिकाका विभिन्न वडामा सम्पन्न भएको हो।गोकुलगङ्गा गाउँपालिकाको समग्र विकास, आर्थिक समृद्धि र स्थानीय नागरिकको जीवनस्तर उकास्ने उद्देश्यसहित ऊर्जा, शिक्षा, स्वास्थ तथा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्ने मुख्य योजना अघि सारिएको छ।
गाउँपालिकाको प्राकृतिक स्रोतसाधन, भौगोलिक सम्भावना र पर्यटकीय आकर्षणलाई अधिकतम उपयोग गर्दै विकासका नयाँ आधार तयार गर्ने लक्ष्य राखिएको छ। विशेषगरी ऊर्जा क्षेत्रमा जलविद्युत् उत्पादन तथा सम्भावित आयोजना प्रवर्द्धन, सडक क्षेत्रमा गाउँपालिकाका सबै वडा तथा बस्तीलाई सहज यातायात सञ्जालसँग जोड्ने र पर्यटन क्षेत्रमा स्थानीय पर्यटकीय गन्तव्यको पहिचान, संरक्षण तथा पूर्वाधार विकास गर्ने योजना रहेको छ।
ऊर्जा क्षेत्रको लगानीले रोजगारी सिर्जना, स्थानीय आम्दानी वृद्धि र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यसैगरी सडक पूर्वाधारको स्तरोन्नतिले कृषि उत्पादनको बजारीकरण, शिक्षा, स्वास्थ्य तथा दैनिक आवागमनलाई सहज बनाउने विश्वास लिइएको छ।
पर्यटन क्षेत्रको विकासमार्फत गोकुलगङ्गाको प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा र स्थानीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसमेत राखिएको छ।
यी तीन प्रमुख क्षेत्रलाई योजनाबद्ध रूपमा अघि बढाउन सके गोकुलगङ्गा गाउँपालिकालाई आर्थिक रूपमा आत्मनिर्भर, समृद्ध र पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विकास गर्न सकिने अपेक्षा गरिएको छ। पालिकाको चारवटा वडामा भव्य तरिकाले कार्यक्रम भएका फोटो भिडियोहरू सामाजिक सञ्जालमा देखिएको छ
तर विविध कारणले

गाउँपालिकाका दुई वडा बेताली र नमाडीमा भने कार्यक्रम सञ्चालन हुन सकेन। गाउँपालिकाका अन्य वडामा जनतासँग प्रत्यक्ष भेटघाट तथा छलफल गर्दै कार्यक्रम सम्पन्न गरी डा. बुढाथोकी फर्किनुभएको छ।
जनताको घरदैलोमै पुगेर उनीहरूका समस्या, आवश्यकता र सुझाव सुन्ने उद्देश्यले गरिएको यस कार्यक्रमले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
यद्यपि बेताली र नमाडीका नागरिकले भने उक्त कार्यक्रममा आफ्ना समस्या तथा गुनासा प्रत्यक्ष रूपमा राख्ने अवसर पाउन सकेनन्। बाँकी रहेका दुई वडामा पनि आगामी दिनमा कार्यक्रम सञ्चालन हुने अपेक्षा गरिएको छ।