रामेछाप। रामेछाप जिल्लाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको पहिचान, संरक्षण, संवर्द्धन र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रामेछापमा पहिलोपटक ‘रामेछाप सम्पदा पदमार्ग’ कार्यक्रम आयोजना हुने भएको छ।
रामेछाप नगरपालिका, रामेछाप नगर उद्योग वाणिज्य संघ र सूर्य चक्र फाउन्डेसनको संयुक्त आयोजनामा आगामी मंसिर ५ र ६ गते उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो।
कार्यक्रमअन्तर्गत रामेछाप नगरपालिकाभित्र रहेका ऐतिहासिक तथा पुरातात्विक सम्पदा, धार्मिक स्थल, मौलिक संस्कृति, परम्परा, सभ्यता र प्राकृतिक सौन्दर्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने लक्ष्य राखिएको छ।
सम्पदा पदमार्ग कार्यक्रमले समग्र रामेछाप जिल्लाको पर्यटन विकासमा टेवा पुर्याउनुका साथै जिल्लाका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको पहिलो दिन बिहान ६:३० बजे रामेछाप नगरपालिका प्राङ्गणबाट कार्यक्रम सुरु हुने जानकारी दिइएको छ। आयोजकले राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान, जिल्ला कार्यसमिति रामेछापलगायत विभिन्न संघसंस्था तथा सरोकारवालालाई कार्यक्रममा उपस्थित भई सहयोग र सहभागिता जनाउन हार्दिक निमन्त्रणा गरेको छ।
रामेछापको मौलिक पहिचान, ऐतिहासिक गौरव र प्राकृतिक सुन्दरतालाई पर्यटनसँग जोड्दै जिल्लाको समृद्धिको आधार तयार गर्ने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रमलाई जिल्लाको पर्यटन प्रवर्द्धनमा एउटा महत्वपूर्ण सुरुवातका रूपमा हेरिएको छ।


