न्यूयोर्क, अमेरिका । नेपाली मूलकी अमेरिकी राजनीतिज्ञ सरहाना श्रेष्ठले अमेरिकाको न्यूयोर्क राज्यको विधानसभा निर्वाचनमा पुनः विजय हासिल गरेकी छन्। उनी न्यूयोर्क राज्यको विधानसभा क्षेत्र नम्बर १०३ बाट प्रतिनिधित्व गर्दै आएकी छन्।
सन् २०२२ मा पहिलो पटक निर्वाचित भएकी श्रेष्ठले सन् २०२४ मा पुनः विजय हासिल गरेकी थिइन्। सन् २०२६ नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा पनि उनी विजयी भएकी हुन्। यससँगै उनले तेस्रो कार्यकालका लागि आफ्नो राजनीतिक यात्रा अघि बढाएकी छन।
श्रेष्ठको चुनावी सफलताको मुख्य आधार जनतासँगको प्रत्यक्ष सम्बन्ध, स्थानीय समस्यालाई प्राथमिकता र प्रभावकारी स्वयंसेवक परिचालन रहेको देखिन्छ।
सन् २०२२ को पहिलो चुनावमा उनले लामो समयदेखि पदमा रहेका डेमोक्रेटिक पार्टीका नेता केभिन काहिललाई पार्टीको प्राथमिक निर्वाचनमा पराजित गरेकी थिइन्। त्यस अभियानमा स्वयंसेवकहरूले ३२ हजारभन्दा बढी घरदैलो गरेका थिए। जलवायु परिवर्तन, सस्तो आवास, स्वास्थ्य सेवा र श्रमिकको अधिकारजस्ता मुद्दालाई उनले आफ्नो चुनावी अभियानको केन्द्रमा राखेकी थिइन्।
सन् २०२४ मा पनि उनले डेमोक्रेटिक पार्टीको प्राथमिक निर्वाचनमा गाबी म्याडेनलाई पराजित गर्दै आफ्नो लोकप्रियता कायम राखिन्। त्यसपछि आम निर्वाचनमा रिपब्लिकन उम्मेदवार ज्याक हेजलाई हराउँदै दोस्रो कार्यकाल सुनिश्चित गरिन्।
श्रेष्ठ सन् २००१ मा विद्यार्थीका रूपमा अमेरिका पुगेकी थिइन्। सन् २०१९ मा अमेरिकी नागरिकता प्राप्त गरेपछि उनी अमेरिकी राजनीतिमा सक्रिय भएकी हुन्।
जलवायु संरक्षण अभियानबाट सार्वजनिक जीवनमा प्रवेश गरेकी श्रेष्ठले न्यूयोर्क राज्यमा स्वच्छ ऊर्जा, सामाजिक न्याय, आवास र श्रमिक अधिकारका विषयमा आवाज उठाउँदै आएकी छन्। उनी न्यूयोर्क राज्यको विधानसभामा निर्वाचित हुने नेपाली मूलकी पहिलो व्यक्ति हुन्।
अमेरिकामा नेपाली मूलका नागरिकहरूको राजनीतिक सहभागिता बढ्दै गएको अवस्थामा सरहाना श्रेष्ठको निरन्तर सफलतालाई नेपाली समुदायका लागि प्रेरणाका रूपमा हेरिएको छ। उनको राजनीतिक यात्राले स्थानीय समुदायसँगको सम्बन्ध, निरन्तर जनसम्पर्क र स्पष्ट मुद्दामा आधारित अभियानले लोकतान्त्रिक राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने देखाएको छ।
अमेरिकामा निर्वाचन नेपाली मिति २०८३ कार्तिक १७ गते भएको थियो।
अन्तराष्ट्रिय
नेपाली चेलीले अमेरिकामा जितिन निर्वाचन
न्यूयोर्क, अमेरिका । नेपाली मूलकी अमेरिकी राजनीतिज्ञ सरहाना श्रेष्ठले अमेरिकाको अ